सङ्खुवासभा १८ पुष
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश,जनता र संविधान बचाउन समाजवादी एकता भएको बताउनुभएको छ । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज नेपाली कम्युनिष्ट पार्टी सङ्खुवासभाको एकता सन्देशसभामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्ड आन्दोलनको उपलब्धी,संविधान बचाउन बामपन्थी र समाजवादी एकता गरिएको बताउनुभयो ।
आन्दोलनको उपलब्धी,देशका रक्षा र जनता बचाउन बामपन्थी र समाजवादी एकता आवश्यकता भएको उहाँको भनाइ छ । उहाँले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताउनुभयो । संकटमा परेको राष्ट्रलाई निकास दिन बामपन्थी र समाजवादी शक्ति मिल्नुको विकल्प नभएको बताउनु भयो । संयोजक प्रचण्डले हालै देखिएको जेनजी पुस्ताको आन्दोलनले युवापुस्ताको सक्रिय सहभागिताले देशको शासन प्रणाली र समग्र परिस्थितिबारे नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढङ्गले आन्दोलित हुन चाहेको स्पष्ट भएको बताउनुभयो । संयोजक दाहालले जनताको अधिकार र लोकतन्त्र कमजोर बन्दै गएको समेत बताउनुभयो । जेनजी पुस्ताको आन्दोलनको उपलब्धी रक्षा गर्न नेपाली कम्युनिष्ट पार्टी सच्चिएर अघि बढ्ने बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टी भने आत्मसमीक्षा गरेर अघि बढेको दाहालको भनाइ थियो । दाहालले नेपालका दुवै छिमेकी मुलुकलाई सन्तुलनमा राखेर अघि बढ्नु जरुी भएको बताउनुभयो । त्यस्तैगरी नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा आएको उहाँको भनाइ थियो । नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैन भन्ने भ्रम थियो, तर जेनजी आन्दोलनले त्यो गलत सावित गरिदिएको उहाँको भनाइ थियो । सहसंयोजक नेपालले सचेत र जिम्मेवार रूपमा आन्दोलित भएकामा युवालाई धन्यवाद दिँदै अब देशलाई शान्तिपूर्ण, लोकतान्त्रिक तरिकाले निकास दिनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो ।