सङ्खुवासभा १४ मङ्सिर
सङ्खुवासभा चैनपुर नगरपालिका –१ गुफापोखरीमा निर्वाचन सुरक्षा र आपराधिक गतिविधि नियन्त्रणका लागि अन्तर जिल्ला सुरक्षा अधिकारीबीच संयुक्त छलफल भएको छ । गुफापोखरीमा बसेको आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र आपराधिक गतिविधि,शान्ति–सुरक्षाका विषयमा सीमावर्ती तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखबीच छलफल भएको हो । प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न तीन वटै जिल्लाका साझा सुरक्षा चुनौतीहरु पहिचान गरी सुरक्षाका हिसाबले अपनाउनुपर्ने रणनीतिका विषयमा तीनै जिल्लाका सुरक्षा अधिकारीबीच छलफल भएको हो ।
सङ्खुवासभा, तेह्रथुम र ताप्लेजङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु सहभागी रहेको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्नका लागि अपनाउनुपर्ने रणनीतिका एकआपसमा साझेदारी गरी अगाडि बढ्ने निर्णय गरेको हो । अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले जनजी आन्दोलनका समयमा फरार कैदी, हतियार नियन्त्रणका लागि एकआपसमा साझेदारी गरी अगाडि बढ्ने निर्णय गरेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । प्रतिनिधिसभा निर्वाचन र तीन जिल्लाका साझा सुरक्षा चुनौतीहरु पहिचान गरी विभिन्न समूह तथा व्यक्तिहरुबाट हुन सक्ने फौजदारी अपराध, लागुऔषध ओसारपसार, सामाजिक अपराध लगायत आपराधिक तथा अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न सीमा जोडिएका क्षेत्रमा एकआपसमा साझेदारी गरी प्रभावकारी रुपमा शान्ति सुरक्षा मिलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी थपलियाले बताउनुभयो ।
अन्तर जिल्ला समन्वय समितिको छलफलमा सङ्खुवासभाबाट प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, सेनानी नवराज बस्नेत, प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली, सशस्त्र प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल, प्रमुख अनुसन्धान अधिकृत रामअचल शाह र सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको सहभागिता रहेको थियो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई, सेनानी उमेश खड्का, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद प्रकाश पाठक, प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय, प्रहरी निरीक्षक जटाशंकर यादव र सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काको सहभागिता थियो । त्यस्तैगरी तेह्रथुमबाट प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, सेनानी कृष्ण तिवारी, प्रहरी नायब उपरीक्षक लिलाराज लामिछाने, सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज विष्ट, प्रमुख अनुसन्धान अधिकृत डिल्लीराम भट्टराई र सहायक प्रमुख जिल्ला अधिकारी विक्रम लिम्बू सहभागी जनाउनु भएको थियो । ताप्लेजुङ र सङ्खुवासभा उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएका छन् । भने तेह्रथुम जिल्ला तराईसँग सिमाना जोडिएको छ ।
भविन कार्की