भविन कार्की, सङ्खुवासभा भदौ २०
सङ्खुवासभामा निर्माणाधीन ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाका प्रभावितलाई १ अर्व रुपैयाँ बढी मुआब्जाको रकम वितरण गरिएको छ । तल्लो अरुण जलविद्युत आयोजनाका प्रभावित खाँदबारी नगरपालिका र चिचिला गाउँपािलका भित्रका स्थानीयलाई एक अर्व रुपैयाँ बढी मुआब्जाको रकम वितरण गरिएको हो ।
तल्लो अरुण जलविद्युत आयोजनाका प्रभावित क्षेत्रमा हालसम १ अर्व ७९ लाख ५० हजार रुपैयाँ मुआब्जा रकम वितरण भइसकेको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत घाङरी लामाले बताए । जिल्ला प्रशासनका अनुसार यो क्षेत्रमा ५ लाख रुपैयाँ देखि ३४ लाख रुपैयाँसम्म जग्गाको मूल्यांकन गरिएको छ । तल्लो अरुण आयोजना निर्माणस्थल क्षेत्रमा पर्ने ६ सय ५६ जनाले मुआब्जा पाउने छन् । प्रभावितका लागि प्रशासनले १ अर्ब ९ करोड मुआब्जा बापतको रकम वितरण गर्ने जनाएको छ । उक्त रकम तल्लो अरुण जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकाहरुले पाउने छन् । आयोजनाका लागि १ सय ८४ हेक्टर जग्गा आवश्यक पर्नेछ । जसमा निजी जग्गा ६५.९६ हेक्टर रहेको छ । अरुण तेस्रो निर्माण गरिरहेको भारतीय सतलज जलविद्युत निगम लिमिटेडले तल्लो अरुणको पनि निर्माणको जिम्मा लिएको छ । मकालु गाउँपालिकामा निर्माण भइरहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्को उत्पादन पछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका २ चेवाबेंसीमा करिब १७.४ किलोमिटर सुरुङमार्गबाट पानी ल्याएर तल्लो अरुण निर्माण गर्न लागिएको हो । आयोजनाबाट नेपालले २१.९ प्रतिशत (१९७.१ मेगावाट) विद्युत् निःशुल्क पाउनेछ भने बाँकी विद्युत् भारत निर्यात हुनेछ । लगानी बोर्ड र भारतीय कम्पनीबीच भएको आयोजना विकास सम्झौता (पिडीए) अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा निर्माण हुने आयोजनाले व्यापारिकरूपमा विद्युत् उत्पादन गरेको २५ वर्षपछि चालू हालतमा निःशुल्क सरकारले पाउनेछ । आयोजनाको निर्माण अवधि पाँच वर्ष कायम गरिएको छ । तल्लो अरुण आयोजनाले सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहने गरी निर्माण हुनेछ ।