भविन कार्की, सङ्खुवासभा १९ असोज
संखुवासभामा दुई देखि लगातारको वर्षापछि आएको पहिरोले विभिन्न स्थानमा क्षति पु¥याएको छ । पहिरोले सदरमुकाम खाँदबारीमा रहेको कारागारको भवन पनि उच्च जोखिममा परेको छ । शनिबार दिउँसो आएको अविरल बर्षाले जिल्ला कारागार खाँदबारीको ३० मिटरको बाहिरी कम्पाउण्ड वाल (पर्खाल) भत्किएको जेलर राजन घिमिरेले बताए ।
कारागारको तल्लो भागको ३० मिटरको बाहिरी कम्पाउण्ड वाल भत्किएर तलदेखि पहिरोले तान्न थालेको जेलर घिमिरेले बताए । पहिरो रोकथामका लागि आज देखि मर्मत थालिए पनि बर्षाका कारण समस्या भएको उनको भनाइ छ । पहिरोका कारण सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको इन्द्र दल गुल्ल समेत जोमिममा परेको छ । पहिरो नेपाली सेनाको ब्यारेको माथिल्लो भाग बगाएको छ । पहिरोले खाना पकाउन भान्सा घर र शौचालय जोखिममा परेको हो । पहिरोका कारण चैनपुर नगरपालिका–६ मा रहेको १५ शैय्याको नगर अस्पताल पर्खाल भत्किएर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । त्यस्तैगरी चैनपुर –३ सिद्धपोखरीमा एक घर पहिरोको जोखिममा परेको छ । आइतबार दिउँसो आएको बर्षाका कारण ढुङ्गा माटोले बनेको तेन्जि शेर्पाको घर पहिरोको उच्च जोखिममा परेको निमित्त प्रहरी प्रमुख लामिछानले बताए । घर पहिरोको जोखिममा परेपछि उनीहरु घर नजिकै रहेको भान्सा घरमा बस्दै आएका छन् ।
भोटखोला जाने सडक अवरुद्ध
पहिरोका कारण सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने उत्तर–दक्षिण सडकखण्ड एक महिना देखि अवरुद्ध छ । उत्तर–दक्षिण सडक खण्डको मकालु गाउँपालिका–३ मा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ ।
त्यस्तैगरी पहिरोका कारण उत्तर दक्षिण कोशी सडक खण्डका केही स्थानमा अझै पहिरोले अवरोध भएका कारण जिल्ला बाहिर जाने लामो दुरीका यातायात सञ्चालनमा रोक लगाइएको छ । माथिल्लो क्षेत्रमा लगातर ठूलो बर्षा भइरहेको र अरुण नदीका बेसिनहरु खतराको तह पार गरेको अवस्था रहेको र अझै बढ्ने खतरा भएका कारण जिल्ला बाहिर तथा जिल्ला भित्रका ग्रामिण सडक खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको निमित्त प्रहरी प्रमुख लामिछानले जानकारी दिए ।