सङ्खुवासभा २५ फागुन
सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना तेस्रो दिन जारी छ । सोमबार दिउँसो ३ बजेसम्म ४९ हजार ६ सय ७५ मत गणना भइसकेको छ । मत गणनाको अन्तिम परिणाम भरे साँझ सम्म आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मत परिणाम छिटो ल्याउन अहिले ४ ठाउँमा मत गणना भइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६३ हजार ६ सय ३४ मत खसेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता जारी छ । नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीले आफ्नो अग्रतालाई कायमै राखेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका अर्जुनकुमार कार्की र रास्वपाका मिङ्मा शेर्पाबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
हालसम्मको मतगणनामा अर्जुनकुमार कार्कीले १२ हजार ५ सय ८९ मत प्राप्त गर्दै पहिलो कायमै राख्नु भएको छ । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले ११ हजार ३ सय ८४ मतले पछ्याय रहेको अवस्था छ । एमालेका कार्की र (रास्वपा) का शेर्पाबीचको १ हजार २ सय ५ मतान्तर रहेको छ ।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले १० हजार मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ८ हजार २ सय ८९ मतका साथ चौथो स्थानमा छन् । भने नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सरिता थापाले २ हजार ५ सय १३ मत प्राप्त गरेकी छन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा हालसम्म ४९ हजार ६ सय ७५ मत गणना भइसकेको छ । भने २ हजार ८ सय १३ मत बदर भएको छ । गणना जिल्ला समन्वय समितिको हलमा शनिबार दिउँसो देखि जारी छ । गणना स्थलमा सिसी क्यामेरा र तारजाली सहितको सुरक्षा व्यवस्था रहेको छ । मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबीच राखिएको छ ।