सङ्खुवासभा २४ कात्तिक
सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकामा रहेको नेपाल–चीन सिमानामा सीमास्तम्भको निरीक्षण भएको छ । प्रमुख जिल्ला अधिकारी सहितको जिल्ला सुरक्षा टोलीको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका –१ पर्ने नेपाल–चीन सिमानामा रहेको सीमास्तम्भको निरीक्षण गरेको हो । उत्तरी क्षेत्र भोटखोला गाउँपालिका –१ अन्तर्गत रहेका तीन वटा सीमास्तम्भको निरीक्षण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया,जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनाली, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक बाबुराम पौडेल सहितको जिल्ला सुरक्षा टोलीले उत्तरी क्षेत्रका तीन वटा सीमास्तम्भको निरीक्षण गरेको छ । जिल्ला सुरक्षा टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका –१ अन्तर्गत रहेका ६८÷६९÷ र ७० नम्बरका तीन वटा सीमास्तम्भको निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो । सङ्खुवासभामा २१ वटा सीमास्तम्भ रहेका छन् । किमाथाङ्कामा नेपाल–चीन अन्तर्राष्ट्रिय सीमास्तम्भ निक्कै पुरानो भएको बताइएको छ । गत जेठ आएको बाढीले ७१÷१ को नेपाल –चीन सिमा स्तम्भ बगाएर बेपत्ता बनाएको छ । भोटखोला–१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा बाढीले बगाएको ७१÷१ सिमास्तम्भ हालसम्म फेला परेको छैन । भोटखोला गाउँपालिका वडा नं १, २ र ३ छिमेकी चीनको भूभाग सँग जोडिएका छन् ।
त्यस्तैगरी जिल्ला सुरक्षा टोलीले खाँदबारी –किमाथाङ्का सडक खण्ड रुटमा पर्ने मतदान स्थल,बोडर आउट पोष्ट किमाथाङ्का बिओपि, र विभिन्न प्रहरी चौकी समेत निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी थपलियाले बताउनुभयो । प्रजिअ सहितको टोलीले चीन तर्फका काउण्टर पार्टसँग सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण र विपद् ब्यवस्थापनका सम्वन्धमा सूचना आदानप्रदान,भन्सार कार्यालय किमाथाङ्काको नाममा रहेको जग्गाको नापजाँच र चारकिल्ला सुरक्षित गरेको छ । टोलीले किमाथाङ्का अरुण, माथिल्लो अरुण, अरुण तेस्रो आयोजनाको स्थलगत अवलोकन जग्गा मुआब्जा र आयोजना सँग नागरिक सुनुवाई र शान्ति सुरक्षा,सडक तथा विभिन्न आयोजना तथा स्थानीय सरोकारका विषयमा अन्तरक्रिया समेत गरेको प्रजिअ थपलियाले बताउनुभयो ।
यस क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको छ भने यहाँ आलु र कोदो मात्र उत्पादन हुँदै आएको छ । किमाथाङ्कावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् । विसं २०३५ मा भन्सार कार्यालय स्थापित किमाथाङ्का नाका द्धन्द्ध लगायत कारणले विसं २०५७ देखि सदरमुकाम खाँदबारीमा सारिएको थियो । खाँदबारीदेखि किमाथाङ्का एक सय ६२ किलोमिटरको दुरीमा पर्दछ । यहाँ अझै पनि सडक सञ्जाल नपुगेकाले सडक पुगेको स्थानबाट दुई दिन हिँडेर नाकासम्म पुग्न सकिन्छ ।
भविन कार्की