संखुवासभा मंसिर २
सीमा सुरक्षा,विपद् र राजश्व र शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बल प्रतिवद्ध भएर काम गरिरहेको सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी, मुख्यालयका बाहिनीपति कुमार न्यौपानेले बताउनुभयो । संखुवासभाको चैनपुरमा रहेको सशस्त्र प्रहरी बल नम्बर ४ अरुण गुल्मले २४ औं स्थापना दिवसको अवसरमा बोल्नु हुँदै सशस्त्र प्रहरी नायव महानिरीक्षक न्यौपानले सशस्त्र प्रहरी छोटो समयमा निकै उपलब्धी हासिल गरेको बताउनुभयो ।
सशस्त्र प्रहरी पछिल्लो समय मुख्य गरी सीमा सुरक्षा र विपद् ब्यवस्थापन जस्ता महत्वपूर्ण क्षेत्रमा काम गरिरहेको उहाँको भनाइ छ । सशस्त्र प्रहरीले कोशी प्रदेशका ५७ बिओपी मार्फत भारत र चीन सीमा क्षेत्रका १७ सय ८७ पीलरको सुरक्षा गरिरहेको बाहिनीपति न्यौपानेले बताउनुभयो । यस्ता कार्यक्रमले सङ्गठन, कर्मचारी र समाज सँग अझै जनविश्वास बढाउने बाहिनीपति न्यौपानेले बताउनुभयो । सिमित स्रोत साधनका बीच सीमा सुरक्षा,विपद् र राजश्व वुद्धि जस्ता महत्वपूणै काम गरिरहेको बताउनुभयो । जनताको आर्थिक मेरुदण्ड,उन्नती समृद्धि सँग जोडिएको राजश्व क्षेत्र र जनताको सुरक्षामा प्रतिवद्ध भएर काम कारवाही गरिरहेको बताउनुभयो ।
अरुण गुल्मको स्थापना दिवसको अवसरमा ब्याडमिन्टन, भलिबल, दौड प्रतियोगिता र बृक्षरोपण, सरसफाई गरिएको सशस्त्र प्रहरी बल नम्बर ४ अरुण गुल्मका डिएसपी बाबुराम पौडेलले जानकारी दिनुभयो । सो अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेतालाई प्रमाण तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, पाँचखपन नगरपालिका नगर प्रमुख विपिन राई,चैनपुर नगरपालिका उपप्रमुख एलिना श्रेष्ठ, जिल्ला न्यायाधिस राजकुमार कोइराला,प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया लगायत विभिन्न संघ संस्था तथा स्थानीयबासीको उपस्थिती रहेको थियो । अरुण गुल्म २०५८ साल मंसिर २ गते स्थापना भएको हो ।