सङ्खुवासभाका ३४ मतदान केन्द्रमा मतदान सामग्री सहित कर्मचारी पुगे

barunnews.com


सङ्खुवासभा १७ फागुन 

सङ्खुवासभामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भौगोलिक रुपमा दुर्गम मानिएको उत्तरी क्षेत्र सहित ३४ वटा मतदान केन्द्रमा मतदान सामग्री सहित कर्मचारी पुग्न थालेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका दुर्गम तथा उच्च हिमाली क्षेत्रमा १५ गते देखि मतदान सामग्री सहित कर्मचारी खटाउन सुरु गरिएको थियो । जिल्लाका ३४ मतदान केन्द्रमा मतपत्र,मतदान सामग्री मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र सुरक्षाकर्मी सहित सम्बन्धित ठाउँमा पुगिसकेका छन् ।  

 सडक सञ्जाल नजोडिएका दुर्गम तथा उच्च हिमाली क्षेत्रमा ३४ वटा मतदान केन्द्रमा मतदान अधिकृत मतदान सामग्री सहित कर्मचारी पुगिसकेको साहयक निर्वाचन अधिकृत उज्जव न्यौपानेले बताउनुभयो । आइतबार सम्म दुर्गम तथा उच्च हिमाली क्षेत्रभोटखोला, मकालु र सिलिचोङ गाउँपालिका भित्रका ३४ वटा मतदान केन्द्रमा मतदान अधिकृत मतदान सामग्री सहित कर्मचारी पुगिसकेको  साहयक निर्वाचन अधिकृत न्यौपानेले बताउनुभयो ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले पहिलो चरणमा फागुन १५ गते सडक सञ्जाल नजोडिएका निकै दुर्गम र विकट क्षेत्र किमाथाङ्का,रिदाक र थुदाम सहित तीन वटा मतदान केन्द्रका लागि मतपत्र र मतपेटीका सहित कर्मचारी र सुरक्षकर्मीे पठाइएको थियो । त्यस्तैगरी हालसम्म एक सय २९ मतदान केन्द्रका मतपत्र,मतदान सामग्री सहित आवश्यक बुझिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।   

जिल्लाका एक सय ६४ वटै मतदान केन्द्रमा १८ गते भित्र मतदान सामग्री सहित कर्मचारी पुगिसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका कतिपय स्थानीय तहमा भौगोलिक रूपमा निकै विकट मानिएको थुदाममा यातायात र सञ्चार अहिलेसम्म पुग्न सकेको छैन ।  प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभर ९ सय ८४ कर्मचारी खटिएका छन् ।  भोटखोला गाउँपालिकामा पाँच ओटा वडामा ११ ओटा मतदान केन्द्र कायम गरिएको छ । भोटखोला गाउँपालिका हिमाली र अति विकट क्षेत्र भएका कारण पैदल हिड्नु पर्छ । एकीकृत जिल्ला सुरक्षा २०८२ बमोजिम निर्वाचनका लागि दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।  जिल्लामा एक अस्थायी सहित १ सय ६५ मतदान केन्द्र रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । जिल्लामा एक सय  ९ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा देखिएका छन् ।  



प्रतिक्रिया