सङ्खुवासभा २८ मङ्सिर
सङ्खुवासभाको मादी नगरपालिकामा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो ।
गत मंसिर ९ गते राति करिब १०ः३० बजे ३७ वर्षीया श्रीमति मिना शेर्पाबाटोको हत्या गरी शव गाडेको घटनामा प्रेमलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मैनालीले बताउनुभयो । मंसिर ९ गते मादी नगरपालिका–४ ओखरबोटे बजारबाट घर फर्कने क्रममा श्रीमति बाटै बेपत्ता भएको भन्दै प्रेमले नै प्रहरी चौकी मादी उजुरी गरेका थिए । प्रहरीले श्रीमान प्रेम माथि शङ्का गर्दै खोजतलास तथा सोधपुछ गर्न क्रममा दोर्चीले हत्या स्वीकार गरेका थिए । श्रीमतिको हत्या गरेको आरोपमा उनलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । शेर्पालाई पक्राउ गरेपछि श्रीमतीको हत्या गरेको खुलेको हो । उनलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार गत मंसिर ९ गते ओखरबोटे बजारबाट घर फर्कने क्रममा प्रेम र उनकी श्रीमती मीना बीच सामान्य विषयमा विवाद भएको थियो । बाटोमै विवाद बढ्दै जाँदा कुटपिट गरी श्रीमतीको हत्या गरेको दोर्चीले स्वीकार गरेका छन् । उनले श्रीमतिको हत्यापश्चात सोही रात मादी नगरपालिका–३ स्थित आफ्नै अलैँची बारीमा खाडल खनी त्रिपालमा बेरेर शव गाडेको बयान प्रहरी समक्ष दिएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।