नेपालका ६ पूर्वप्रधानमन्त्रीलाई राजनीतिबाट अवकाश गराउने तयारी

barunnews.com

भदौ २७ 

काठमाडौं– भ्रष्टाचार र सरकारी बेथितिविरूद्ध जेन–जी पुस्ता सडकमा उत्रिएपछि उत्पन्न राजनीतिक संकट समाधान गर्न राष्ट्रपति रामचन्द्र पौडेल प्रयासरत छन् । यही बेला प्रमुख राजनीतिक दलका दोस्रो पुस्ताका नेताहरु भने ६ जना पूर्वप्रधानमन्त्रीहरुलाई राजनीतिबाटै अवकाश गराउने प्रयासमा लागेका छन् । भदौ २३ गते शुरु भएको जेन–जीको आन्दोलन उग्र बनेसँगै प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएर बालुवाटरबाट भागेपछि उत्पन्न संकट समाधानका लागि राष्ट्रपति पौडेलले विभिन्न पक्षसँगको छलफललाई तीब्रता दिएका छन् ।

राष्ट्रपति पौडेलले बिहीबारमात्रै संविधानविदहरूसँग मुलुकको पछिल्लो अवस्था र अब चाल्नुपर्ने कदमका बारेमा सुझाव मागेका छन् । आन्दोलनरत पक्षले अन्तरिम सरकार गठनका लागि अघि सारेको मागमा नेपाली सेनाले सहजीकरण गरिरहेको छ । जेन–जी पुस्ताको आन्दोलनमा सहभागी भएकाहरू बीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि पठाउने बारे लगभग सहमति भइसकेको बताइन्छ ।

तर, पनि आम नेपाली जनतामा अब मुलुक कता जान्छ, मुलुकमा के हुन्छ भन्ने चासो र चिन्ता व्यापक रहेका बेला पछिल्लो घटनाक्रमलाई सुरक्षित अवतरणका लागि विभिन्न दलका दोस्रो पुस्ताका नेताहरू सक्रिय बनेका छन् । प्रतिनिधिसभाका तीन ठूला दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र)  सँगै नेकपा (एकीकृत समाजवादी) दोस्रो तहका नेताहरू आन्तरिक छलफलमा छन् । उनीहरूले विभिन्न दलका तर्फबाट मुलुकको नेतृत्व सम्हालिसकेका पाँचजना पूर्वप्रधानमन्त्रीहरूलाई सक्रिय राजनीतिबाट अवकाशमा पठाएर राजनीतिक वातावरण बनाउने प्रयास गरिरहेका छन् । स्रोतका अनुसार चारवटै दलका दोस्रो पुस्ताका नेताहरू कामचलाऊ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र डा। बाबुराम भट्टराईलाई राजनीतिबाट अवकाश लिनुपर्ने निष्कर्षमा पुगेका हुन् । उनीहरूले ६ जना पूर्वप्रधानमन्त्रीहरूलाई संयुक्त वक्तव्यमार्फत् सक्रिय राजनीतिबाट अवकाश लिएको घोषणा गराउनेसम्मको तयारी गरेका छन् । यो तयारी चारवटै दलका पदाधिकारी तहका दोस्रो पुस्ताका नेताहरूले गरिरहेका स्रोतको भनाइ छ । सबै ६ जनै पूर्वप्रधानमन्त्रीहरूलाई संयुक्त वक्तव्य निकालेर राजनीतिबाट अवकाश लिन लगाउने, अब राम्रोसँग देश चलाउनू भन्न लगाउने होमवर्क हामीहरू गरिरहेका छौँ,’ कम्युनिस्ट विचार बोक्ने दलका एक पदाधिकारीले  बताए ।  


प्रतिक्रिया