संखुवासभा पुष २६
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम गरी संखुवासभामा पनि मनाइएको छ । नेपाली सेनाको इन्द्र दल गुल्मले ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा अन्तर उच्च माध्यमिक विद्यालय स्तरीय कविता वाचन प्रतियोगिता गरिएको इन्द्र दल गुल्मले जनाएको छ ।
इन्द्र दल गुल्मले आयोजनमा तथा शिक्षा विकास तथा समन्वय इकाईको सहकार्यमा कविता वाचन प्रतियोगिता गरिएको हो । आज सदरमुकाम खाँदबारी स्थित इन्द्र दल गुल्मले खाँदबारी नगरपालिका भित्रका अन्तर उच्च माध्यमिक विद्यालय स्तरीय कविता वाचन प्रतियोगिता गरेको हो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सम्बन्धी कविता वाचन प्रतियोगितामा विभिन्न विद्यालयका १७ जना विद्यार्थीहरूको सहभागिता जनाएको इन्द्र दल गुल्मका सेनानी नवराज बस्नेतले बताउनुभयो । कविता वाचन प्रतियोगितामा कुनिना माध्यमिक विद्यालयकी छात्रा ज्योति गुरुङ प्रथम भएकी छन् । प्रतियोगितामा हिमालय माध्यमिक विद्यालयका छात्र भीमार्जुन निरौला द्वितीय र कालिका माध्यमिक विद्यालयकी छात्रा निशा शेर्पा तृतीय भएका छन् । कविता वाचन प्रतियोगितामा विजयीले क्रमस नगद ५ हजार रुपैयाँ प्रमाण पत्र, द्वितीयले नगद ३ हजार रुपैयाँ, पमाण पत्र र तृतीयले नगद २ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यसैगरी सान्त्वना पुरस्कारतर्फ जनता माध्यमिक विद्यालयका निरुल तामाङ, महेन्द्र माध्यमिक विद्यालयकी प्रेमिका राई र मनकामना माध्यमिक विद्यालय, तुम्लिङटारकी सरिता विक लाई जनही नगद एक ÷ एक हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको छ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका पृथ्व नारायण शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज पृथ्वी जयन्ती मनाइँदै छ । कार्यक्रममा खाँदबारी नगरपालिकाका नगर प्रमुख महेश थपलिया, प्रमुख जिल्ला अधिकारी सृजना थपलिया सहितको उपस्थिती रहेको थियो ।