सङ्खुवासभाको बरुण सहित नेपालका चार हिमताल उच्च जोखिममा ः इसिमोड

barunnews.com

सङ्खुवासभाको बरुण सहित नेपालका चार हिमताल उच्च जोखिममा ः इसिमोड 

 सङ्खुवासभा ५ मङ्सिर

सङ्खुवासभाको बरुण हिमताल सहित नेपालका चार हिमताल उच्च जोखिममा इसिमोडको तथ्यांकले देखाएको छ । आज सदरमुकाम खाँदबारीमा अन्र्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको अन्तरसंवाद कार्यक्रममा मकालु गाउँपालिकामा रहेको बरुण हिमताल सहित नेपालका चार हिमताल उच्च जोखिम रहेको जनाएको छ ।  

हिमताल फुटेर विशेषगरी असक्त, महिला र बालबालिका बढी जोखिममा पर्ने भएकाले प्रभावित क्षेत्रका सरोकारवाला निकाय सँग जोखिम न्यूनीकरणका लागि योजना कार्यान्वयनका लागि अन्तरक्रिया गरिएको हो । हिउँ बढी पग्लने, हिमताल र नदीहरुमा धेरै पानी हुने भएकाले यतिबेला हिमताल फुट्ने सम्भावना बढी हुन्छ । 

 इसिमोडका हिमनदी तथा जल प्रकोप प्रमुख डा.नीरा श्रेष्ठ प्रधानका अनुसार मकालु आधार शिविर भन्दा तल रहेको लोवर बरुण हिमताल र भोटखोला गाउँपालिका स्थित अरुण भ्याली हिमलताल उच्च जोखिममा रहेको बताउनुभयो । सङ्खुवासभाका चार र तिब्बतका १३ वटा हिमताल फुट्ने जोखिममा रहेको हिमनदी तथा जल प्रकोप प्रमुख प्रधानले बताउनुभयो । भोटखोला क्षेत्रमा २ र मकालु क्षेत्रमा २ वटा गरी ४ हिमताल उच्च जोखिमयुक्त रहेको उहाँको भनाइ छ । तीमध्ये तल्लो वरुणमा रहेको ठूलोपोखरी हिमताल उच्च जोखिममा भएको छ । करिब ३ किलोमिटर लम्बाइ र २ सय ६ मिटर गहिराइ भएको इसिमोडले जनाएको छ ।  हिमताल फुटेमा ठूलो जनधन र पूर्वाधारमा विनाश निम्त्याउन सक्ने उनले चेतावनी दिनुभयो । 

 तिब्बतमा रहेका १३ वटा हिमतालको पानी अरुण नदी हुँदै नेपालतर्फ आउने गरेको उहाँको भनाइ छ । कूल १.९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको लोवर बरुण हिमतालको लम्बाइ २.७ किलोमिटर र चैडाइ ६०० मिटर रहेको छ ।  हिमताल फुटेमा ठूलो जनधन र पूर्वाधारमा विनाश निम्त्याउन सक्ने भन्दै जोखिम न्यूनीकरणका लागि योजना कार्यान्वयन भइरहेको छ । त्यस्तैगरी कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा रहेको इसिमोडले जनाएको छ ।     नेपालमा चार हिमताल फुट्ने जोखिममा रहेको उल्लेख गर्दै इसिमोडले हिमालमा नयाँ ताल बन्ने र विलिन हुने प्रक्रियाका कारण तल्लो बस्ती जोखिममा रहेको इसिमोडका शरदप्रसाद जोशीले बताउनुभयो । जलवायु परिवर्तन हिमाल र तालको संरक्षणमा चुनौतीपूर्ण देखिएको बताउँदै उहाँले त्यसको समाधानका लागि सामूहिक प्रयासमा जोड दिनुभयो । जोखिम बढ्दै गएपछि जल तथा मौसम विज्ञान विभाग र यूएनडीपी नेपालको सहकार्यमा ४ हिमतालका लागि जोखिम न्यूनीकरण योजना कार्यान्वयनमा अघि बढिरहेको इसिमोडले जनाएको छ । ठूलोपोखरी (तल्लो बरूण) पनि सो योजनामा समावेश छ । हिमताल फुट्यो भने अरुण उपत्यकाका धेरै बस्ती र संरचना उच्च जोखिममा रहेको इसिमोडका शरदप्रसाद जोशीले बताउनुभयो । उहाँका अनुसार तिब्बतबाट फुटेर आउने धेरै छन् । उत्तरी भेगमा त्यस्ता जोखिमयुक्त ताल १३ वटा देखिएको इसिमोडले जनाएको छ । विपदमा सबैभन्दा बढी असक्त, महिला र बालबालिकामै जोखिम हुने गरेको बताइएको छ ।  

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जोखिमयुक्त हिमताललाई सुरक्षित बनाउने दिगो उपाय तत्काल आवश्यक रहेको बताउनुभयो ।  हिमतालले भविष्यमा पु¥याउन सक्ने जोखिमका लागि व्यवस्थापन तथा न्यूनीकरण गर्न सरोकारवाला निकायको ध्यान जान जरुरी भएको जिसस प्रमुख शाक्यको भनाइ छ । 

नेपालमा जोखिम छ, पूर्वतयारी छैन 

नेपालमा हिमतालको उच्च जोखिम भएपनि पूर्वतयारी नभएको कार्यक्रमका सहभागिले बताए । हिमतालको उच्च जोखिम भएका स्थानमा सरकारले सूचना प्रणाली राख्न जरुरी भएको पत्रकार अनिष्ट विष्टले बताउनुभयो । जोखिमयुक्त नेपालका चार हिमतालमध्ये दुई वटामा मात्र सूचना प्रणाली जडान गरिएको छ । सूचना प्रणाली जडान गरिएको इम्चा र च्छो–रोल्पाको अवस्था भने नियमित अपडेट भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार त्यसअनुसारको सतर्कता पनि अपनाइएको छ । हिमतालहरूको जोखिम अध्ययन र सूचना प्रणाली जडानमा सरकारले ध्यान नदिएको वातावरण विज्ञहरुको गुनासो छ । सरकारले थोरै गम्भीरता देखाउँदा धेरै धनजन जोगिने उनीहरू बताउँछन् । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियालगायत सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा हिमताल व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको थियो । यो हिमताल विस्फोट भएमा सङ्खुवासभा,भोजपुर, धनकुटा र सुनसरी सहितका कोशी प्रदेशका विभिन्न जिल्लाका खोला किनारमा बसोबास गर्ने बस्ती उच्च जोखिममा पर्ने भएकाले यसतर्फ सचेत रहन सरोकारवालालाई इसिमोडले आग्रह गरेको छ ।  




प्रतिक्रिया