एमालेले जबज छोडेको छैन ः शंकर पोखरेल

barunnews.com


काठमाडौँ  भदौ २२ 

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज) को मार्ग निर्देशन नछोडेको दावी गरेका छन्। पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आइतवार पार्टी नेताहरूले संगठनात्मक प्रस्तावमाथि उठाएका प्रश्नको जवाफका क्रममा उनले उक्त कुरा बताएका हुन्। महासचिव पोखरेलले एमालेले जबज छोड्यो भनेर अनर्गल प्रचार नगर्न पनि चेतावनी दिए। महासचिव पोखरेलले जबजलाई अघि बढाउने सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरन्तर अगुवाइ गर्दै आएको दाबी पनि गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। गौतमले भने, जबज मदन भण्डारीले लेख्नुभयो। त्यसको कार्यनीति केपी शर्मा ओलीले लेख्नुभएको हो। विधान माधव नेपालले लेख्नुभयो। जबजको नीति हामीले खुम्च्याएका छैनौँ। यसलाई फराकिलो पारेका छौँ। जबज हाम्रो निर्देशक सिद्धान्त हो। हामीले यसलाई अन्यथा नबुझ्नका निम्ति उहाँले जोड दिनुभयो। प्रचार विभाग प्रमुख गौतमका अनुसार महासचिव पोखरेलले मदन भण्डारीको अगुवाइमा पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएको जबजबाट नै एमाले निर्देशित रहेको पटक पटक दोहोर्‍याएका थिए। 

प्रतिक्रिया