भदौ २९
विराटनगर। जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशका सबै मन्त्रालय अराजक समूहको निशानामा परे । मन्त्रालहरूमा आगजनी र तोडफोडपछि चोरी र लुटपाट मच्चियो। जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा नै मन्त्रालय सग्लो अवस्थामा नभएको कोशी प्रदेश सरकारकी प्रमुखसचिव चन्द्रकला पौडेल बताइन् । सबै मन्त्रालयमा क्षति पुगेको छ ।
सबैभन्दा बढी क्षति मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथ कानुन, आर्थिक मामिला तथा योजना, उद्योग कृषि तथा सहकारी मन्त्रालयमा पुगेको छ । उनका अनुसार जिल्ला तहका कार्यालय र प्रदेशको यातायात कार्यालय क्षति कम छ । ती कार्यालय सेवा प्रवाहका लागि तयार छन् । मन्त्रालयमा भने कुनै कार्यकक्ष बाँकी नरहेको उनले बताइन् । ‘जिल्ला तहमा असर नपरेका कार्यालयहरूले काम सुरु गरिहाल्छन् । यातायात, मालपोतको सेवा प्रवाहका लागि व्यवस्थापन भइरहेको छ, उनले भनिन्, मुख्यमन्त्री कार्यालयसहितका मन्त्रालयमा भने तत्कालै सहज रूपमा काम सुरु गर्ने अवस्था छैन । क्षति कम भएको कोठाबाट प्रशासनिक काम सुरु गर्ने तयारी भएको उनले बताइन् । पहिला जस्तो छुट्टै कोठा छुट्टै कार्यकक्ष होइन, एउटा हलमा बसेर काम गर्ने तयारी गरिरहेका छौं, उनले भनिन्, क्षति नभएको कोठामा बसेर सेवा प्रवाह गर्ने स्थिति बन्छ । मन्त्रालयहरूले आजबाट क्षतिको विवरण संकलन गर्दै सरसफाइ सुरु गर्ने तयारी गरेका छन् । भौतिक संरचनाभन्दा सवारी साधनको क्षति धेरै छ । त्यसलाई बीमाले कभर गर्ला, उनले भनिन्, ‘हामी सबै विषय हेर्दैछौं, अहिले क्षतिको विवरण संकलन गर्दैछौं । कोशी प्रदेशसभा सचिवालयले आजबाट एउटा कोठाबाट प्रशासनिक काम सुरु गर्दैछ । सूचना अधिकारी निरोज ढकालका अनुसार प्रदेशसभाको मिडिया सेन्टर रहेको कोठामा टेबल,कुर्सी राखेर प्रशासनिक काम सुरु हुनेछ ।
शून्यमा झर्यो विराटनगर महानगर
अराजक समूहले आगजनी गर्दा विराटनगर महानगरपालिका लगभग शून्य अवस्थामा पुगेको छ ।आन्दोलनकारीले कार्यालयका कागजात, दस्तावेज र सवारी साधन जलाएका छन् ।महानगरपालिकामा उपप्रमुख शिल्ला निरला कार्कीको कार्यकक्ष बाहेक सबै महानगरको सबै कार्यकक्षमा तोडफोड र आगजनी भएको छ । सबैतिर क्षति पुगेको छ, लगभग शून्य अवस्थामा आइपुगेको छ,’ महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले भने, ‘अहिले नै सेवा प्रवाह गर्नसक्ने अवस्थामा छैनौं । अराजक समूहको आगजनीको निसानामा महानगरको अत्यावश्यक सवारी साधन पनि परेका छन् । डोजर, मिनी ट्रकलगायत विपदमा प्रयोग हुने सवारी जलेका छन् । महानगरपालिकाले पार्किङ गरेर राखेका सबै सरकारी जलेका छन् । कार्यालय भित्र र बाहिर भएको क्षतिको विवरण संकलन भएको छैन । आजबाट क्षतिको विवरण संकलन गर्दै सरसफाइ गर्ने दुलालले बताए । महत्पपूर्ण कागजात भएको नक्साफाँट, राजस्व फाँट, घरजग्गा फाँटमा छानीछानी आगजनी भएको छ । प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालका अनुसार महानगरसँग रेकर्डमा रहेका अधिकांश कागजात र जलेका नष्ट भएका छन् ।