सङ्खुवासभा ८ पुष
सङ्खुवासभाको खाँदबारी नगरपालिका– ४, सेकाहामा पर्यटन प्रवद्धन तथा स्थानीय उत्पादनको बजारीकरण गर्न सेकाहा महोत्सव आयोजना हुने भएको छ । खाँदबारी– ४ स्थित सेकाहामा ‘पुस ११–१५ खाँदबारी– ४ सेकाहा जाऔँ, ऐतिहासिक सेकाहा महोत्सवलाई भव्यताका साथ मनाऔँ’ भन्ने नारासहित सेकाहा महोत्सव हुन लागेको हो ।
आज सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गर्दै महोत्सवलाई भव्य र सभ्य बनाउन मूल आयोजक समितिका साथै विभिन्न उपसमितिहरू गठन गरी तीव्र रूपमा तयारीमा जुटेको आयोजक सेकाहा सामुदायिक विकास क्लबका अधयक्ष मनिराज गुरुङले बताए । स्थानीय घरेलु तथा कृषि उत्पादन, सहितका सामग्री प्रदर्शनी रहने गुरुङले बताए । महोत्सवमा सेकाहा रंगशाला उद्घाटन तथा जग्गादाताहरूलाई सम्मान, अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता, स्थानीय तथा राष्ट्रियस्तरका चर्चित गायक–गायिकाद्वारा बृहत् सांगीतिक कार्यक्रम प्रस्तुति हुनेछ । साथै, पर्यटकीय क्षेत्र सेकाहा गाउँको अवलोकन, पर्यटन प्रवद्र्धन तथा होमस्टे अवलोकन, विभिन्न जातजातिहरूको सांस्कृतिक झाँकी प्रदर्शनी, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, जिल्लाभरका गुरुङ जातिहरू भेला भएर ल्होसार पर्व मनाउने र अन्य विभिन्न खेलकुद कार्यक्रमहरू छेलो हान्ने, डोरी तान्ने, हाँडी फुटाउने र नृत्यहरू हुने गुरुङले बताए ।
महोत्सवमा विभिन्न कार्यक्रमका साथै देशका विभिन्न क्षेत्रका साथै सिक्किमलगायतबाट समेत पाहुनाहरू सेकाहा भित्रिने आयोजकले जनाएको छ । तमू ल्होसारको अवसरमा आयोजित यो महोत्सवले पुस ११ देखि १५ गतेसम्म पाँच दिन बजार लाग्नेछ । सेकाहा सामुदायिक विकास क्लबको आयोजनामा ‘ऐतिहासिक सेकाहा महोत्सव–२०८२’ हुन लागेको हो ।