भदौ २३
काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १५ जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या १५ पुगेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ट्रमा सेन्टरमा ७ जना, सिभिल अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा २ जना छन् । प्रदर्शन स्थलको सुरक्षामा खटिएका प्रहरीले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउनेहरूको टाउकोमा ताकेरै गोली प्रहार गरेको भेटिएको छ । ट्रमा सेन्टरका चिकित्सकले मृत घोषणा गरेका बाँकेका २५ वर्षीय सुलभ राज श्रेष्ठ र १९ वर्षीय सिमाय चौलागाईंको टाउकोमा गोली लागेको भेटिएको छ । कालिकोट खाडाचक्र नगरपालिका–१ घर भएका २५ वर्षीय पवन शाहीको पेटमा गोली लागेको छ ।
प्रहरीको गोली लागेर कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिका दैनिकमा कार्यरत फोटो पत्रकार दिपेन्द्र ढुंगाना घाइते भएका छन् । बानेश्वरको प्रदर्शनमा घाइते भएका ८७ जनाको उपचार हुँदै छ ।