सङ्खुवासभा १२ पुष
कोशी राजमार्ग अन्तरर्गत सङ्खुवासभाको खाँदबारी –तुम्लिङटार सडक खण्डमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शनिबार साँझ कोशी राजमार्ग अन्तरर्गत खाँदबारी –तुम्लिङटार सडकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा खाँदबारी नगरपालिका – ९ तुम्लिङटारका ४५ बर्षीय धन बहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धन बहादुर राजवंशीले जानकारी दिए ।
शनिबार साँझ अन्दाजी साढे ६ बजे खाँदबारी –तुम्लिङटार सडकमा सभाखोलाबाट तुम्लिङ्टार आउँदै गरेको को १८ प ७१७६ नम्बरको मोटरसाइकल र तुम्लिङ्टारबाट सभाखोला तर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प २२७७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका को १८ प ७१७६ नम्बर मोटरसाइकलमा पछाडी सवार धन बहादुर सुनारको उपचारका क्रममा मनकामना सामुदायिक असस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक राजवंशीले बताए । मृतक सुनारको शव पोष्टमार्रटमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउन तयारी भइरहेको प्रहरी निरीक्षक राजवंशीले बताए ।
त्यस्तैगरी को १८ प ७१७६ नम्बरको मोटरसाइकल चालक खाँदबारी – ९ का ४८ बर्षीय चक्र बहादुर सुनार र े प्रदेश १–०२–०४३ प २२७७ नम्बर मोटरसाइकलका चालक धनकुटाको छथर जोरपाटी गाउँपालिका –३ का ५५ बर्षीय यज्ञ बहादुर श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको मनकामना सामुदायिक अस्पताल तुुम्लिङटारमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।