भदौ २६
काठमाडौँ । दसैँ आउन ११ दिन मात्रै बाँकी छ । तर केही दिनयता जेनजी आन्दोलनपछि देश विषम परिस्थितिबाट गुज्रिरहेको छ । परिस्थितिलाई सामान्य बनाउन प्रशासन कार्यालयहरुले देशका धेरैजसो जिल्लामा निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेका छन् । आन्दोलनका कारण खाद्यान्न र तरकारी आपूर्तिमा पनि समस्या भइरहेको छ । केही समयअघि बाढीपहिरोका कारण उत्तरी नाका ठप्प छन् भने जेनजी आन्दोलनसँगै दक्षिणी नाकामा पनि कडाइ गरिएको छ । अहिले खाद्यान्न आपूर्ति ठप्पजस्तै भएकाले चाडपर्वको समयमा खाद्यान्न अभाव तथा महँगी बढ्ने त्रास बढेको छ । तर अहिले खाद्यान्न अभाव नहुने खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्राचार्य बताउँछन् । हामीसँग खाद्यान्न मौज्दात पर्याप्त छ । कुनै पनि वस्तु अभाव हुँदैन, बज्राचार्यले भने, महँगी पनि बढ्दैन । किनभने हामीले पहिल्यै आयात गरेको वस्तु स्टकमा छ । तर यो बेलामा खाद्यान्न अभावको बाहाना बनाएर कालोबजारी बढ्ने सम्भावना हुन्छ । कालोबजारी बढ्न नदिन अहिले देशको अवस्था नाजुक रहेकाले उपभोक्ता आफैँ सचेत रहनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खाद्यान्न अभाव र मूल्य वृद्धि नरहेको जनाएको छ । विभागका महानिर्देशक रोशन ज्ञवालीले अहिले देशको स्थिति सहज नभएकाले विभागका कामहरु प्रभावित भएको बताए । साथै, उनले अहिलेको अवस्थामा आवश्यकताभन्दा बढी खाद्यान्न खरिद गरी भण्डारण नगर्न अनुरोध गरे ।यसैगरी यस अवस्थामा बजारमा अभाव सिर्जना गरी कालोबजारी हुनबाट जोगिन उपभोक्ता तथा व्यवसायीहरुलाई सचेत रहन समेत आग्रह गरेका छन् ।