सङ्खुवासभामा नमुना मतदान तथा मतदान स्थल सुरक्षाका लागि नमुना अभ्यास

barunnews.com


 सङ्खुवासभा ९ फागुन 

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा निर्वाचनको झल्को दिने नमुना मतदान गरिएको छ । आगामी फागुन २१  गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी सदरमुकाम खाँदबारीमा नमुना मतदान सम्पन्न गरिएको छ । बदर मत कम गर्ने लक्ष्य र मतदातालाई सहजताका लागि शनिबार आगामी फागुन २१  गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी स्वरुप नमुना मतदान गरिएको हो । 

नमुना मतदान भए पनि साँच्चै मतदानको झल्को दिइने गरी मतदान भएको थियो । धेरै मतदाताले मतदान गर्दा मत वदर गर्ने सम्भावनालाई कम गर्न नुमना मतदान कार्य गरिएको जिल्ला निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ । खाँदबारी नगरपालिका –७ स्थित खाँदबारी रंगशालामा नमुना मतदान केन्द्रमा नमुना मतदान गर्दा त्यहाँका अधिकाश मतदाताहरुले सहज रुपमा मतदान गरेको जिल्ला निर्वाचन कार्यालयको सूचना अधिकारी खगेन्द्र अधिकारीले बताउनुभयो । बदरमत कम गर्ने लक्ष्य र मतदातालाई सहजताका लागि नमुना मतदान कार्य गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तैगरी जिल्ला सुरक्षा समितिको आयोजनामा निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन मतदान केन्द्रको नमुना अभ्यास सञ्चालन गरिएको छ । नेपाल प्रहरी,निर्वाचन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सहितको संयुक्त टोलीले नमुना अभ्यास गरेको छ । निर्वाचनको दिन शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले गरिएको सो अभ्यासमा मतदान केन्द्रको सुरक्षा व्यवस्थापन, भीड नियन्त्रण, मतदाता सहजीकरण, आकस्मिक अवस्था व्यवस्थापन तथा कानुनी दायित्वका विषयमा व्यावहारिक अभ्यास गराइएको थियो । अभ्यासका क्रममा मतदान स्थल वरपरको सुरक्षा घेरा, संवेदनशील परिस्थितिमा अपनाउनुपर्ने कार्यविधिबारे जानकारी गराइएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायको भूमिका अत्यन्त महत्त्वपूर्ण भएका कारण त्यसका लागि व्यवहारिक अभ्यासमार्फत जनशक्तिलाई दक्ष बनाइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले नमुना अभ्यासबाट प्राप्त सीप र ज्ञानलाई वास्तविक कार्यस्थलमा इमानदारीपूर्वक प्रयोग गर्न निर्देशन दिँदै निर्वाचन सुरक्षामा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।  जिल्लामा एक सय  ९ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेका छन्  । जिल्लामा निर्वाचनका लागि दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । कार्यक्रममा इन्द्र दल गुल्म,सशस्त्र प्रहरीको अरुण गुल्म चैनपुर र जिल्ला प्रहरी कार्यालय,राष्ट्रिय अनुसन्धान लगायत सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिति थियो ।


प्रतिक्रिया