सङ्खुवासभा २५ मङ्सिर
सङ्खुवासभामा स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति सङ्खुवासभा द्धारा आयोजित कार्यक्रममा जिल्लामा रहेका जिल्लाका १० वटै स्थानीय तहहरुको असल अभ्यास सम्बन्धी अनुभव आदान प्रदान गरिएको हो ।
जिल्ला समन्वय समिति सङखुवासभाका प्रमुख सुमन शाक्यले कार्यक्रमको उद्घाटन गर्नुहुँदै विशेषगरी स्थानीय तहले गरेका विविध काम र असल अभ्यास जुन अनुकरणीय होस् जसलाई आदानप्रदान गर्न सकियोस् भन्ने मुख्य उदेश्य रहेको बताउनुभयो । स्रोत साधन र कर्मचारी अभावमा समेत स्थानीय तहले प्रभावकारी काम गरिरहेको बताउनुभयो । स्थानीय तहको असल अभ्यास सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रमले एक अर्का स्थानीय तहबाट सिक्ने अवसर सिर्जना गर्नुका साथै सेवा प्रवाहलाई प्रभावकारी, उत्तरदायी र नागरिकमुखी बनाउन सहयोग प्रदान गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै गरी स्थानीय तहहरूले नागरिकसँग नजिक रहेर प्रभावकारी सेवा प्रवाह गर्न जरुरी रहेको र असल अभ्यासहरूको साझा प्रयासले समग्र जिल्लाको विकासमा मद्दत पुग्ने जिल्ला समन्वय समितिका उपप्रमुख बविता खत्री अधिकारीले बताउनुभयो । योजना निर्माण, श्रोत व्यवस्थापन, जनशक्तिको क्षमता अभिवृद्धि र व्यवस्थापनका विषयमा संघ र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । असल अभ्यास सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रममा जिल्लाका १० स्थानीय तह मध्ये ७ स्थानीय तहको सहभागि रहेको थियो । कार्यक्रममा सहभागी यस जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले पालिकामा भए गरेका विविध कामहरुको बारेमा जानकारी गराएका थिए ।