कुख्यात अपराधी जेलबाहिर, समाज त्रस्त

barunnews.com

२६ भदौ

काठमाडौं । आन्दोलनबाट सिर्जित संकटको फाइदा उठाउँदै देशका विभिन्न जेलबाट १४ हजार ३०७ कैदीबन्दी भागेको प्रहरीले जनाएको छ । पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने रिहा भएपछि कारागारमा कैदीबन्दीहरू भाग्ने क्रम बढेको थियो ।जेनजी आन्दोलनको मौका पारेर कारागारबाट यस्तासम्म कैदी भागेका छन्, जसको नाम सुन्दा पनि समाज त्रस्त हुन्छ । अपहरणदेखि व्यक्ति हत्या, तस्करी, बलात्कारसम्मका कुख्यात नाइकेहरू अहिले जेल बाहिर छन् । जेल भित्रैबाट बाहिर आफ्नो गिरोह चलाउने ल्याकत राख्ने कैदीहरू जेनजी आन्दोलनको मौका छोपेर खुला आकाशमा पाइपुगेका छन् । जेलबाट भाग्नेहरूमा अपहरणकारीका नाइके भारतीय नागरिकदेखि सुन तस्करीका नाइकेसम्म छन् । भागेका कैदीको अवस्थाबारे प्रशासन अहिलेसम्म अनभिज्ञ छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै भागेका कैदीबन्दीलाई कारागार फर्कन आग्रह गरेको छ   ‘हिरासतमा रहेका आरोपी, कारागारमा रहेका कैदीबन्दी भागी निस्केकाले यस्ता अभियुक्त र कैदीबन्दीलाई सम्बन्धित प्रहरी वा अन्य सुरक्षा निकायको सम्पर्कमा आउनुहुन अनुरोध गरिएको छ,’ प्रहरीले विज्ञप्ति सार्वजनिक गर्दै भनेको छ । प्रहरीको यो अनुरोधपछि केही कैदीबन्दी फर्किए पनि कुख्यात कैदीबन्दीहरू भने अझै फरार छन् ।

अपहरणकारी किङ सेट्टी फरार

जेलबाट फरार हुने कैदीमध्ये एक हुन्, भारतीय नागरिक उदय सेट्टी । उनी रसुवा कारागारमा थिए । त्यहाँ रहेका सबै ९८ जना कैदीबन्दी कारागार तोडफोड गरी भागेका थिए । यसरी भाग्नेमा उदय सेट्टी पनि रहेको कारागार प्रशासक कैलाश देवकोटा बताउँछन् । कारागारबाट भागेपछि उनी कहाँ गए भन्ने पत्तो लाग्न सकेको छैन । उनले कैद भुक्तान गर्न अझै करिब २ वर्ष बाँकी थियो । त्यसपछि पनि अन्य ठाउँहरूमा मुद्दा रहेकोले रसुवाबाट छुटेपछि अन्य ठाउँमा लगिने प्रहरीले बताउँदै आएको थियो । फरार सेट्टीको आपराधिक ट्र्याक रेकर्ड हेर्ने हो भने सर्वसाधारणको आङ नै जिरिङ्ग हुने खालको छ । २०६४ सालपछि नेपालमा भएका अधिकांश अपहरण र फरौतीको घटनामा उनको नाम जोडिन्छ । २०६४ पछि काठमाडौं, बुटवललगायत देशभर अपहरणको श्रृंखला नै चलेको थियो । १२ फागुन २०६४ मा अपहरणमा संलग्न रहेका २ जना पक्राउ परे । अन्य भने फरार नै थिए । महानगरीय प्रहरी अपराध महाशाखा ९हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको एन्टी किडन्यापिङ सेलले २ माघ २०६५ मा ५ जनालाई हतियारसहित पक्राउ गर्‍यो । तिनैमध्ये एक थिए, उदय सेट्टी ।


प्रतिक्रिया