भदौ २१
नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनमा समूहगत छलफल सुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नाराका साथ शनिबार सुरु भएको महाधिवेशनमा सबै प्रतिवेदन पेस भइसकेपछि आज समूहगत छलफल सुरु भएको हो ।
प्रतिवेदनमा छलफलका लागि १० वटा समूह बनाइएको छ । जसमा सात भौगोलिक प्रदेश, उपत्यका विशेष, जनसङ्गठन र सम्पर्क समन्वय र प्रवास तथा केन्द्रीय निकाय एवं आयोजक समूह छन् । जारी महाधिवेशनमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवेदन पेस गरिएको थियो ।शनिबार बिहान केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा .पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा। विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गरे गरेका थिए ।प्रतिनिधिहरूलाई प्रस्तुत भएका प्रतिवेदनमाथि फरक मत तथा असहमति भए आआफ्नै समूहमा बहस गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देश दिएका छन् ।
दश समूहमा सबै प्रतिवेदनमाथि छलफल हुनेछ । प्रत्येक समूहले बहस नोट कमिटी, छलफलको प्रतिवेदन लिखित र टोली नेताले प्रतिवेदन हलमा पेस गर्न महासचिव पोखरेले निर्देश गरेका छन् ।त्यसैगरी बन्दसत्रले सचिव लेखराज भट्टको संयोजकत्वमा बहस नोट कमिटी गठन गरेको छ । जसमा सदस्यहरू स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटब्युरो सदस्य सूर्य थापा, जुली महतो, केन्द्रीय सदस्य विष्णु रिजाल, निरज आचार्य र विष्णुमाया विक रहेका छन् ।