भदौ २५
जिल्ला कारागार कार्यालय धादिङबाट कैदीबन्दी भाग्न खोजेपछि सेनाले गोली चलाएको छ।सेनाले चलाएको गोली लागी दुई जना कैदीबन्दीको मृत्युसमेत भएको छ। धादिङकै बेनिघाट रोराङ गाउँपालिका ४ का ७५ वर्षीय जितबहादुर घले र नवलपरासी पश्चिमको सुनवल नगरपालिका १२ का ३६ वर्षीय इन्द्रबहादुर डालाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिए। घटनामा सात जना घाइते भएको पनि प्रजिअ सुवेदीले बताए। घाइतेहरू मानव बेचबिखन, जबरजस्तीकरणी र लागुऔषध मुद्दामा जेल सजाय भोगिरहेकाहरू छन्। उनीहरूलाई बुधबार नै उपचारका लागि काठमाडौं पठाइएको प्रजिअ सुवेदीले बताए। गोली दिउँसो साढे २ बजे चलेको थियो। प्रजिअ सुवेदीका अनुसार कैदीबन्दीहरूले बिहान ९ बजेदेखि नै कारागारभित्र नाराबाजी र तोडफोड गरेका थिए। उनीहरूले कारागारमा आगजनी गरेपछि दमकल ल्याएर आगो निभाइएको थियो। जेलभित्रै सीपसम्बन्धी कामका लागि प्रयोग गरिने घरेलु हतियार प्रयोग गरी कैदीबन्दीले सुरक्षकर्मीमाथि आक्रमण प्रयास गरेका थिए। कैदीबन्दीहरूले काठमाडौंमा रवि लामिछानेलाई छाडिसकेका कारण आफूहरूलाई पनि छाड्नुपर्ने माग राखेका थिए। अहिले परिस्थिती सेनाको नियन्त्रणमा रहेको प्रजिअ सुवेदीले जानकारी दिए।