भदौ २०
सङ्खुवासभा जिल्लामा घुम्ती शिविर मार्फत राष्ट्रिय परिचयपत्र कार्ड वितरण तथा छुट दर्ता शिविर सञ्चालन भइरहेको छ । घुम्ती शिविरमा ज्येष्ठ नागरिक, अशक्त र असहाय लाभिन्वित भएका छन् । घुम्ती शिविरमा परिचयपत्र कार्ड वितरण तथा छुट भएका विवरण संकलन भइरहेको छ । घुम्ती शिविरबाट ज्येष्ठ नागरिक, अशक्त र असहायलाई राहत मिलेको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेसँगै वृद्ध,वृद्धा, अशक्त र असहाय नागरिकले सदरमुकाम धाउनु पर्ने बाध्यता रहेको थियो ।
ज्येष्ठ नागरिक, अशक्त र असहाय नागरिकलाई गाउँमै सेवा उपलब्ध गराउन घुम्ती शिविर आयोजना गरिएको राष्ट्रिय परिचयपत्र सङ्खुवासभाकी प्रमुख आशा जबेगुले बताउनुभयो । सडक सञ्जाल नजोडिएका भोटखोला,सिलिचोङ मकालु गाउँपालिकाका ज्येष्ठ नागरिक, अशक्त र असहाय नागरिकलाई सदरमुकाम खाँदबारीसम्म धाएर राष्ट्रिय परिचयपत्र दर्ता गर्न र लिन समस्या हुने भएकाले त्यहाँका स्थानीय नागरिकलाई लक्षित गरी घरदैलौमै सेवा प्रवाह गरिएको प्रमुख जबेगुले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय, स्थानीय तहको समन्वय र सहकार्यमा जिल्लाका विभिन्न स्थानमा नागरिकलाई घरदैलोमै पुगेर सेवा पु¥याउने गरी राष्ट्रिय परिचयपत्र वितरण तथा छुट दर्ता शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ । ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न अनिवार्य र पिन नम्बर पनि रहेकाले परिचयपत्र लिने व्यक्तिलाई आफैं उपस्थित हुने पर्ने छ । राज्यले प्रदान गर्ने सेवासुविधा र अधिकारहरू नागरिकले प्राप्त गर्ने पहिलो आधार व्यक्तिगत घटना दर्तासँग जोडिएको राष्ट्रिय परिचयपत्रलाई सरकारले नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रूपमा अघि सारेको हो । सङ्खुवासभामा राष्ट्रिय परिचयपत्रका लागि २०७६ साल देखि विवरण संकलन भएपनि करिव चार बर्ष पछि मात्र कार्ड छपाइ भएर जिल्ला आएको हो ।