कोशी राजमार्ग अन्तरगत सभाखोला लेगुवा सडक खण्डमा ‘टाइम कार्ड’ लागू गरिने

barunnews.com

भविन कार्की, भदौ २३ 

कोशी राजमार्ग अन्तरगत संखुवासभाको सभाखोला –लेगुवा सडक खण्डमा सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले पहिलो पटक  सभाखोला –लेगुवा सडक खण्डमा कार्ड लागू गर्ने निर्णय गरेको छ । चाडपर्वको सयममा गन्तव्यस्थलमा छिटो पुग्ने बहानामा तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो ।  

आज जिल्ला प्रशासन कार्यालय संखुवासभामा प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाको अध्यक्षतामा बसेको बैठकले आगामी असोज १ गते देखि सभाखोला –लेगुवा सडक खण्डमा कार्ड लागू गर्ने निर्णय गरेको हो ।  बैठकले बढ्दो सवारी चाप र सडक संरचनालाई मध्यनजर गर्दै कार्ड लागू गर्ने निर्णय गरेको  छ । कोशी राजमार्ग अन्तरगत संखुवासभाको सभाखोला –लेगुवा सडक खण्डको १७.५ किमि सडकमा ४५ मिनेट कायम रहने टाइम कार्ड लागू गरिएको  प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन् ।   त्यस्तैगरी बैठकले आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै दुर्घटना न्यूनीकरणका लागि सवारी साधनका चालक सहचालक साथै ट्राफिक नियमको पूर्ण पालना गर्ने तथा ट्राफिक प्रहरीले यात्रुहरुको गन्तब्य सुरक्षित बनाउन चेकजाँच गर्ने र जिल्ला प्रशासन कार्याल र प्रहरी कार्यालयले अनुगमन गर्ने निर्णय गरेको छ । बैठकले सडक सम्वद्ध कार्यालय र पालिकाहरु सँगको समन्वयमा सहज रुपमा यातायात संचालन हुने गरी नियमित सडक मर्मत संभार गर्ने, ट्राफिक संकेत बोर्डहरु चिन्ह राख्न लगाउन गरेको प्रजिअ थपलियाले बताइन् ।  जिल्लाको  सदरमुकाम खाँदबारी र धरान–विराटनगर—काठमाडौं जोडने मुख्य सडकको हो । उक्त सडक खण्डमा सवारी दुर्घटना दिनानुदिन बढर्दै गएपछि जिल्लामा पहिलो पटक टाइम कार्ड लागू गरिएको हो ।   जिल्लामा दैनिक दुई सय यात्रु बाहक तथा मालबाहक सवारी साधन आवतजावत हुने गरेको छ । 

प्रतिक्रिया