७ बैशाख : सङ्खुवासभाको मकालु गाउँपालिका–२ मा एकै घरका दुई जना बालकको मृत्यु भएको छ । मकालु–२ स्थित सुकेखोला एउटै परिवारका दुई दाजुभाइको खोलामा डुबेर मृत्यु भएको छ । घर नजिकै रहेको सुकेखोलामा गएका १२ वर्षीय सुवाष राई र ४ बर्षीय आकाश राईको ढुङ्गाबाट चिप्लिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिनुभयो । ढुङ्गाबाट चिप्लिएका भाइलाई बचाउन खोज्दा दाजुले समेत ज्यान गुमाउनु परेको छ । आइतबार बेलुकी १२ वर्षीय सुवाष राई र ४ बर्षीय आकाश राई घर नजिकै रहेको सुकेखोलामा पौडी खेल्न गएका थिए । सोही क्रममा खोलामा पौडी खेलिरहेका ४ बर्षीय आकाश राई ढुङ्गाबाट चिप्लिएर खोलामा खसेपछि उनलाई बचाउन दाजु सुवाष राई हाम फालेका थिए । तर दुवै जना करिब १५ मिटर तल खस्दा गम्भीर घाइते भएका थिए । घटना लगत्तै मकालु प्रहरी चौकीबाट खटिएको प्रहरी र स्थानीयवासीको सहयोगमा दुवैलाई तत्काल सेदुवा स्थित मकालु स्वास्थ्य केन्द्रमा पु¥याई उपचार थालिएको थियो । तर उपचारकै क्रममा दुवै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हेदाङनाबाट प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा खटिएको थियो । प्रारम्भिक अनुसन्धान सम्पन्न गरी दुवै जनाको शव पोष्टमार्टमका लागि सोमबार बिहान जिल्ला अस्पताल ल्याइएको छ ।
सत्य,तथ्य र निष्पक्ष समाचारका लागि