इन्धनको मूल्य वृद्धिले विकास निर्माण प्रभावित, व्यवसायीको आपतकाल घोषणा गर्न सरकारसँग माग

barunnews.com

 बैशाख ७ : संखुवासभामा पेट्रोलियम पदार्थमा भएको लगातारको मूल्य वृद्धिले विकास निर्माणको काम प्रभावित भएको छ । डिजेलको मूल्य वृद्धिसँगै निर्माण सामग्रीमा मूल्य वृद्धि भएकाले निर्माण व्यवसायीले काम रोकेका छन् । नेपाल निर्माण व्यवसायी संघ संखुवासभाले इन्धनजन्य पदार्थको अत्याधिक तथा अप्रत्याशित मूल्यवृद्धिले निर्माण उद्योग गम्भीर संकटमा परेको बताएका छन् । डिजेल, पेट्रोल, मट्टितेल लगायत इन्धनको पटक–पटक मुल्य वृद्धिका कारण निर्माण कार्य प्रत्यक्ष रूपमा असर परेको भन्दै जिल्ला प्रशासन कार्यालयमा सोमबार ध्यानाकर्षण पत्र बुझाएका छन् । निर्माण कार्यमा प्रयोग हुने विटुमिन,सेमिन्छ,डण्डि लगायतका सामग्री मुल्य वृद्धिका कारण व्यवसायीहरू ठूलो आर्थिक भारमा परेको भन्दै सरकारसँग निर्माण क्षेत्रमा आपतकाल घोषणा गर्न माग गरेको छ । सोमबार संघले प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया मार्फत प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग अघि सारेको हो ।  डिजेल, पेट्रोल, मट्टितेल लगायत इन्धनको पटक–पटक बढाइएको मूल्यका कारण निर्माण कार्य प्रत्यक्ष रूपमा प्रभावित भई उद्योग नै ठप्प हुने अवस्थामा पुगेको नेपाल निर्माण व्यवसायी संघ संखुवासभाका महासचिव सुनिल श्रेष्ठले बताउनुभयो । मूल्य निरन्तर बढ्दै जानुका साथै बजारमा अभाव देखिनुले समस्या झन् जटिल बनेको नेपाल निर्माण व्यवसायी संघले जनाएको छ ।  कच्चा पदार्थ तथा आपूर्ति प्रणालीमा देखिएको अव्यवस्थाले देशभर निर्माण क्षेत्र प्रभावित भएको संघको भनाइ छ । निर्माण कार्य सञ्चालन हुने समयमा इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धि तथा अभावका कारण व्यवसायीहरू ठूलो आर्थिक भारमा परेको उल्लेख गर्दै  निर्माण उद्योग जोगाउन तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । आर्थिक वर्षको अन्तिम असार महिनामा विकास निर्माणको काम दुरत गतिमा हुनुपर्ने भए पनि यसपालि भने सुस्त गतिमा रहेको छ ।  पेट्रोलियम पदार्थमा मूल्य वृद्धिपछि राष्ट्रिय गौरवको उत्तरी दक्षिण कोशी राजमार्गको खाँदबारी —किमाथांका सडक खण्ड समेत ठप्प हुने स्थितीमा पुगेको छ । त्यस्तैगरी जिल्लामा भएका दजनौं निर्माण उद्योग,क्रसर सडक निर्माण ठप्प भएका छन् । 


प्रतिक्रिया